लुते प्रशासन,लुरे लोकतन्त्र


प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

पूर्व गृहमन्त्री बिजय (पराजय) कुमार (?) गच्छादार (गद्दार) ले देशको प्रशाशन चलाए । तर कसरी चलाए ? गणेश भक्त भएर चलाए । मस्ट वान्टेडमा परेका गणेश लामालाई आफ्नै आसेपासे बनाएर उनले खुलेआमा गृहमन्त्री पद मात्र हैन देशमो काुनन माथि नै सुसु गरे । हामी भने गाइ बनाउने निहुँमा हरेक पटक गधाहरूलाई धोइ राखेका छौं । उनै गृहमन्त्री हुन जसले डलर कारोबारमा संलग्न एसएसपी रविराज श्रेष्ठलाई उन्मुक्ति दिन सघाए र हवल्दार शोभित कार्कीलाई भने जेलको हावा ख्वाए । यी गृहमन्त्रीलाई हामीले ल्याएको लोकतन्त्रले हावा ख्वाउन सकेन, बरु साधारण जनताको रगत मथेर ल्याएको लोकतन्त्रको घिउ यीनले चाटे । हामीले धुलो मात्र चाट्न पायौं । मह पाउने आशमा माहुरी भनेर सत्तामा लामखुट्टे र भुसुना पालिराखेका छौं हामी । यी भुसुना र लामखुट्टेले उल्टै हामीलाई चुसे रस चुसिरहेका छन । न संविधान आयो, न शान्ती आयो । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

हामीले थाहा नपाएका काण्ड धेरै छन् । बाबुराम भट्टराइको कार्यकालमा पनि क्याबिनेटको निर्णयमा थुप्रै व्यक्ति र संस्थाहरूलाई देशको ढुकुटी कुकुरलाई मासु बाँडेझै बाँडियो । कसलाई कति, के बाँडीयो भन्ने बारेमा अझै स्पष्ट बाहिर आएका छैनन । बजेट सम्बन्धी बाध्यकारी रातो किताब छापिएको छैन र आयव्ययको हिसाबकिताब पारदर्शी रूपमा बाहिर ल्याउने चलन बन्द गरिएको छ । हाम्रै काँधमा चढेर सत्ता पुगेकाहरूले हामीलाई नै अलमल बनाउनुमा रमाएका छन् । मेरो देशमा लोकतन्त्र आएर के भो ?

नयाँ सरकार आयो । प्रधानन्याधिस कठपुतली सरकारको प्रमुख बने । रिमोट उनै देशका माउ पाटी कहलिएका, कांग्रेस, एमाले, मधेसबादी र माओवादीले सम्हाले । खिलाराज रेग्मी न्यायलयमा हुँदा हत्या अभियोग लागेका बालकृष्ण ढुंगेललाई कार्वाही गर्नु भनी न्यायलयले नै सरकारलाई आदेश दियो । सरकारले मानेन । त्यसबेला प्रम बनेका बबुरा बाबुराम नै त्यसका बिरुद्ध वक्तव्य दिन थाले । अहिले तिनै प्रधानन्याधिस सरकारमा आएका छन् । तर उनी मौन छन् । सरकारले न्यायलयको सम्मान गरेन भन्ने पूर्व प्रधानन्याधिसले आफू प्रम बनेपछि चाही ढुंगेलको विषयमा मुखमा सुपरग्लु लगाएर बस्नु र हातमा दहि जमाएर बस्नु कत्तिको सुहाउने कुरा हो ? लोकतन्त्रीक राज्यव्यवस्थाको गलत व्याख्या, अपराधीहरू खुलेआम परेड खेल्ने मैदान भएको छ ऐले । मेरो देशमा लोकतन्त्र आएर के भो त ?

राजाबादीहरू गणतन्त्रको जलले पखालिएर आफूलाई चोख्याए अनि गणतान्त्रिक बन्न कस्सिए । रायमाझी आयोगको प्रतिवेदनलाई सिंहदरबारको खोपीमा राखेर सलाइ कोरियो । १९ दिने जनआन्दोलन कथा भैसक्यो । भ्रष्ट्राचारका बिबादमा मुछिएका लोकमानसिंह कार्कीलाई अख्तियारमै नियुक्त गर्ने प्रस्ताव पुग्यो । गम्भिर अपराधमा मुछिएकालाई चुनावमा उठ्ने टिकट दिने कसरत हुन थाल्यो । के यसैको लागि आएको थियो लोकतन्त्र ? यहाँ त न्यायलयको कठघरामा न्यायलाई नै अपराधी बनाएर अपराधीले न्याधिसको कुर्ची सम्हाल्ने प्रवृती बढेको छ । आखिर मेरो देशमा लोकतन्त्र आएर के भो ?

(भवसागर घिमिरे, २०६९–१२–२४)

नोट:तस्बिर विभिन्न वेबसाइट

Comments